पोखरा महानगरपालिकाले फिर्केखोलामाथि निर्माण गरिएका अतिक्रमित संरचना हटाउने अभियान आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। खोलाघर अतिक्रमण गरी बनाइएका घरटहरा, पसल तथा संस्थागत संरचनामा डोजर चलाउन थालिएको महानगरले जनाएको छ।महानगरपालिकाका अनुसार पूर्वसूचना जारी गरिसकिएको र सम्बन्धित व्यक्ति तथा संस्थालाई संरचना खाली गर्न पर्याप्त समय दिइएको थियो। केही संघसंस्था तथा व्यक्तिहरूले भने महानगरको सूचनापछि स्वेच्छाले आफ्ना संरचना हटाइसकेका छन्।
फिर्केखोला संरक्षण तथा अतिक्रमण हटाउने अभियानअन्तर्गत आजदेखि तीन फरक स्थानबाट एकसाथ डोजर परिचालन गरिएको छ। पहिलो टोलीले पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि वडा नं ४ तर्फ संरचना हटाउन थालेको छ। दोस्रो टोलीले पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट वडा नं ५ र ८ तर्फ डोजर अभियान अघि बढाएको छ। त्यस्तै तेस्रो टोलीले पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवन क्षेत्रबाट फेवातालतर्फ अतिक्रमित संरचना हटाउन सुरु गरेको छ।



महानगरद्वारा गरिएको प्राविधिक नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलामाथि स्थायी तथा अस्थायी गरी १६० वटा संरचना निर्माण गरिएको पाइएको छ। प्रतिवेदनमा खोलाको बहाव क्षेत्र नै मिचेर ९७ अस्थायी र ३५ स्थायी संरचना निर्माण गरिएको उल्लेख गरिएको छ। त्यसैगरी, खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचनासमेत निर्माण गरिएका छन्।
फिर्केखोला पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ नम्बर वडा हुँदै फेवातालमा मिसिन्छ। करिब आठ किलोमिटर लामो यो खोलाको चौडाइ स्थानअनुसार न्यूनतम ३ दशमलव ३० मिटरदेखि अधिकतम ४० मिटरसम्म रहेको प्राविधिक नापजाँचबाट खुलेको छ।
महानगरपालिकाले खोलाको वास्तविक सीमा निर्धारण गर्न पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा सीमास्तम्भसमेत गाडिसकेको जनाएको छ। महानगरका अनुसार फिर्केखोलाको प्राकृतिक बहाव संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा फेवाताल जोगाउने उद्देश्यले अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा केही स्थानमा स्थानीयको विरोध देखिए पनि अधिकांशले महानगरको निर्णयलाई सहयोग गरेका छन्। महानगरपालिकाले भने सार्वजनिक सम्पत्ति संरक्षण र नदी–खोला अतिक्रमण नियन्त्रणमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।



