काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ५ प्रतिशतले वृद्धि गरिएको जनाएको हो ।



विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको सैद्धान्तिक सहमतिपछि भाडादर समायोजन गरिएको हो । डिजेलको मूल्यमा उल्लेख्य वृद्धि भएपछि स्वचालित प्रणालीअनुसार भाडा बढाइएको विभागले स्पष्ट पारेको छ । नयाँ भाडादर वैशाख १६ गतेदेखि लागू हुने जनाइएको छ । अन्तरप्रदेशीय रूपमा सञ्चालन हुने सार्वजनिक यातायातमा यो वृद्धि लागू हुनेछ । यात्रुवाहक सवारी तथा मालवाहक ट्रक (पहाड र तराई दुवै क्षेत्रमा) मा ५ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो ।
यद्यपि, बढेको भाडा विद्युतीय सवारी साधनमा भने लागू नहुने विभागले जनाएको छ । इन्धनमा आधारित सवारी साधनको सञ्चालन खर्च बढेका कारण भाडा समायोजन गरिएको बताइएको छ । विभागका अनुसार भाडा निर्धारण गर्दा डिजेलको औसत मूल्यमा उल्लेख्य वृद्धि भएको आधार लिइएको हो । अघिल्लो पटक चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो । छोटो अवधिमै दोहोरिएको भाडा वृद्धिले यात्रु र ढुवानी क्षेत्रमा थप आर्थिक दबाब पर्ने अनुमान गरिएको छ ।
सरकारले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा भाडा स्वतः समायोजन हुने व्यवस्था लागू गर्दै आएको छ । यसपटकको वृद्धि पनि सोही व्यवस्थाअनुसार गरिएको जनाइएको छ ।



