बझाङ, बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा ३ जनाले घटनास्थलमै ज्यान गुमाएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका ५ जनाको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। उनीहरूलाई थप उपचारका लागि सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रशासनले जनाएको छ।
दुर्घटना कसरी भयो, जिपमा कति जना सवार थिए र जिप कहाँबाट कहाँ जाँदै थियो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ। मृतक र घाइतेहरूको पहिचान पनि सार्वजनिक गरिएको छैन।



घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी, प्रशासन तथा उद्धार टोली घटनास्थलमा पुगेका छन्। दुर्गम क्षेत्र भएकाले घाइतेहरूको उद्धार कार्यमा हेलिकप्टर प्रयोग गरिएको प्रशासनले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। दुर्घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



