सुनसरीको झुम्का कारागारमा पछिल्लो चार दिनमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ। जेल प्रशासनका अनुसार बुधबार साँझ सप्तरी घर भएका ४६ वर्षीय एक कैदी उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा निधन भएको हो। यसअघि आइतबार र सोमबार पनि दुई जनाको मृत्यु भइसकेको छ।
कारागारमा रहेका अधिकांश मृतकमा उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ। जेलरका अनुसार, झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ मा १ हजार ७९५ जना कैदीबन्दी छन्, जसमा ४०० भन्दा बढीमा ज्वरोको समस्या देखा परेको छ। तीमध्ये १९ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।



जेल प्रशासनले कारागारभित्रै स्वास्थ्य शिविर सञ्चालन गर्दै केही कैदीबन्दीको उपचार अस्पतालसँगको सहकार्यमा गरिरहेको छ। चिकित्सकहरूले यसलाई भाइरल ज्वरोको प्रकोप भएको निष्कर्ष निकालेका छन् र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।



