काठमाडौं । बडादशैंको मुख्य दिन आज विजया दशमी । आफ्ना मान्यजनका हातबाट टीका र जमरासँगै आर्शिवाद ग्रहण गरिँदैछ । असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व दशैँ हो । शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको तथा मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको सम्झनामा दशैँ मनाउने परम्परा चल्दै आएको छ । यो वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
दशमीमा टीका, जमरा लगाउने र मान्यजनबाट आशिष लिइन्छ । उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।



घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ बजेर ३३ मिनेट रहेको छ । चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।
आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।



