काठमाडौं । चन्द्रागिरि नगरपालिकामा प्राविधिक शिक्षालय भवनको शिलान्यास गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र ड्रिम्स फाउण्डेशन कोरियाका संयोजकले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको हो ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित बलम्बु माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो । २ करोड ६३ लाख रुपैयाँमा निर्माण हुने तीन तल्ले बलम्बु प्राविधिक शिक्षालय भवन निर्माणका लागि सोड नेपालको समन्वयमा ड्रिम्स सेयरिङ फाउण्डेशन कोरियाले ७० प्रतिशत र बाँकी चन्द्रागिरि नगरपालिकाको लागत रहनेछ । प्राविधिक शिक्षालयमा ब्यूटीपार्लर, इलेक्ट्रोनिक्स, अटोमोवाइललगायतका विषय अध्यापन गराइने छ । भवनको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।




शिलान्यास कार्यक्रममा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, चन्द्रागिरि– १२ का वडाअध्यक्ष न्हुच्छे बहादुर महर्जन, सोड नेपालका अध्यक्ष ज्ञानु श्रेष्ठ, सीइटीभीटीका उपनिर्देशक दिपकबाबु अर्याल, समाजकल्याण परिषद्का कोषाध्यक्ष विजय लामा, चन्द्रागिरि नगरपालिकाका शिक्षा प्रमुख कर्णबहादुर भुवाजी, प्राविधिक सव–इञ्जनियर सुमन पुडासैनी, विद्यार्थीलगायतको उपस्थिति थियो ।






