काठमाडौं । बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा शुल्कमा व्यापक वृद्धि गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार लाइसेन्स आवेदन, नवीकरण तथा वर्ग थपसम्बन्धी अधिकांश दस्तुर दोब्बर हुने भएका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३-०८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत शुल्क पुनरावलोकन गर्दै नयाँ दर निर्धारण गरेको हो । यससँगै अब सवारीचालक अनुमतिपत्र लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीले अघिल्लो व्यवस्थाभन्दा बढी रकम तिर्नुपर्नेछ ।



नयाँ व्यवस्थाअनुसार लाइसेन्स आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर एक हजार रुपैयाँ कायम गरिएको छ । मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को लाइसेन्स बनाउने वा नवीकरण गर्ने शुल्क १ हजार पाँच सयबाट ३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) का लागि २ हजार रुपैयाँ लाग्दै आएको शुल्क अब ४ हजार रुपैयाँ हुनेछ ।
ट्र्याक्टर (ई वर्ग) तथा मिनीबस र मिनी ट्रक (एफ वर्ग) को लाइसेन्स तथा नवीकरण शुल्क २ हजार ५ सयबाट ५ हजार रुपैयाँ कायम गरिएको छ ।
यस्तै ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर र ग्रेडरजस्ता सवारी समेटिएका जीदेखि जे वर्गसम्मका सवारीको शुल्क ३ हजारबाट बढाएर ६ हजार रुपैयाँ पुर्याइएको छ ।
यसअघि लाइसेन्स प्राप्त गरिसकेका चालकले नयाँ वर्ग थप गर्न चाहेमा पनि अब बढी शुल्क तिर्नुपर्नेछ । ए देखि एफ वर्गसम्म वर्ग थप गर्न लाग्ने शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ तथा जी देखि जे वर्गसम्मका लागि १ हजारबाट २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यद्यपि शुल्कमा उल्लेखनीय वृद्धि गरिएको भएपनि सवारीचालक अनुमतिपत्रको १० वर्षे वैधता अवधि भने यथावत् रहने प्रदेश सरकारले स्पष्ट पारेको छ ।
प्रदेश सरकारको यो निर्णयले राजस्व संकलन बढाउने उद्देश्य बोकेको देखिए पनि सेवाग्राहीको आर्थिक भार भने थप बढ्ने भएको छ । विशेषगरी पहिलो पटक लाइसेन्स लिन खोज्ने युवा तथा नवीकरण गर्नुपर्ने चालकहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । अब नयाँ शुल्क संरचना साउन १ गतेदेखि बागमती प्रदेशभर लागू हुनेछ ।



