बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र ८ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँसहित कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङलाई शपथ गराउनुभयो । तामाङले खानेपानी उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाउँदा अधिकारीको लागि मन्त्रालय तोक्न बाँकी छ । एमालेका ६ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन । कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा मगर र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले पद तथा गोपनियताको शपथ लिनुभयो ।
१४ मन्त्रालय रहेको बागमतीमा एमाले ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्री पाउनेछन्। पार्टीभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन। बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री र मकवानपुरबाट दोस्रो मुख्यमन्त्री हुनुभयो । यसअघि डोरमणि पौडेल मकवानपुरबाट मुख्यमन्त्री बन्नुभएको थियो । निर्माण व्यवसायी बानियाँ मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुनुहुन्छ । उहाँ २०७० मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७३ मा गृह राज्यमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्नुभएको थियो । २०७४ देखि बागमती प्रदेशसभामा सक्रिय बानियाँ २०७९ पुस १३ मा दलको नेतामा बहादुर सिंह लामासँग पराजित हुनुभएको थियो । तर गत साउन ९ मा लामाविरुद्ध बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भयो। साउन १३ मा मतविभाजन हुँदा लामाले दलको नेता गुमाउनुभयो भने साउन १४ मा बानियाँ संसदीय दलको नेतामा चयन हुनुभयो । लामाले आइतबार राजीनामा दिएपछि बानियाँले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्नुभयो । कांग्रेस र एमालेको गठबन्धनले २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति अनुसार बानियाँले ८ महिना नेतृत्व गरेर फागुनमा एमालेलाई हस्तान्तरण गर्नुहुनेछ ।






