काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेले नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य गर्दै सरकारबाट औपचारिक रूपमा बाहिरिएको छ । पार्टीको केन्द्रीय निर्देशन र प्रदेश संसदीय दलको निर्णयअनुसार एमालेका सबै मन्त्रीहरूले मंगलबार राति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा भएको निर्णयपछि सरकारमा रहेका पार्टीका मन्त्रीहरूले आफ्नो जिम्मेवारीबाट अलग हुने प्रक्रिया अघि बढाएका हुन् । यससँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको छ ।



राजीनामा बुझाउने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका छन् ।
त्यस्तै, बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भई पछि विषयगत जिम्मेवारी सम्हालिरहेका जयराम थापा, किरण थापामगर र भरतबहादुर केसीले पनि पदबाट राजीनामा दिएका छन् ।
एमाले सरकारबाट बाहिरिएसँगै प्रदेश सरकारको आगामी रणनीति र नयाँ सत्ता समीकरणबारे राजनीतिक चासो बढेको छ । सरकारलाई बहुमत कायम राख्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा नयाँ साझेदारको खोजी गर्ने विषय अब प्रमुख राजनीतिक एजेण्डाका रूपमा अगाडि आउने देखिएको छ ।
यसैबीच, प्रदेश सरकारले मन्त्रालयको संरचनामा समेत पुनःसंरचना गर्ने तयारी अघि बढाएको छ । नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संरचना अनुरूप मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने र सोही आधारमा कार्यविभाजन टुंग्याउने तयारी भइरहेको जनाइएको छ ।
एमालेको सरकारबाट बहिर्गमनसँगै बागमती प्रदेशको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ । अब सरकारको स्थायित्व, आगामी सत्ता सहकार्य तथा मन्त्रिपरिषद्को पुनर्संरचनाले प्रदेश राजनीतिको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।




