बाजुरा — बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर तथा गोठमा क्षति पुर्याएको छ। लगातार वर्षापछि माथिबाट पहिरो खस्दा स्थानीयका घर तथा गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार गएराति करिब ८ बजेदेखि परेको अविरल वर्षापछि बडीमालिका नगरपालिका–८ कोठ्याराका नरे रावलको घरमा पहिरो खसेको थियो। त्यस्तै, वडा नम्बर ९ का करे थापा र दिपक विकको घरमा पनि पहिरोले क्षति पुर्याएको छ।
पहिरोका कारण वडा नम्बर ९ मै रहेका मोती ओखेडा, धनबहादुर विक, जंग ओखेडा र तुले लुहारका गोठमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरो घर तथा गोठमा खस्दा घरभित्र राखिएको खाद्यान्न र लत्ताकपडामा क्षति पुगेको छ भने गोठमा रहेका पशुचौपायासमेत प्रभावित भएका छन्। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षा भइरहेकाले जिल्लाका अन्य क्षेत्रमा समेत पहिरो तथा बाढीको जोखिम बढेको छ। प्रहरीले स्थानीयलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।






