काठमाडौं । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटीमा पर्ने मुख्य राजमार्गका सडक अवरुद्ध भएका हुन् । ११ राजमार्गमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् भने ५ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् ।
सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । उता, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्णरुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।



चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइनखोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक भने एकतर्फी सञ्चालनमा आएको छ । धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको बताइएको छ । यस्तै काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको बिपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ ।



