काठमाडौं । डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा जहिल्लै अस्थिर देखिन्छ । १० वर्षे माओवादी सशस्त्र युद्धको वैचारिक नेतृत्व गरेका भट्टराईले २०७२ सालमा संविधान जारी भएलगत्तै माओवादी विचारधारा म्याद सकिएको औषधि हो भन्दै त्याग्नुभयो । तर, त्यसपछिको उहाँको यात्रा कुनै एक बिन्दुमा थिग्रिन सकेको छैन । उहाँ भने यसलाई गतिशिलता भन्नुहुन्छ । माओवादी छाडेर नयाँ शक्ति पार्टी बनाउनुभयो, जुन वैकल्पिक राजनीतिको आशाका रूपमा उदाएको थियो । तर, त्यो प्रयोग असफल भएपछि उहाँ उपेन्द्र यादवको संघीय समाजवादीसँग मिसिन पुग्नुभयो । त्यसपछि जसपा, अनि फेरि फुटको शृङ्खला पार गर्दै नेपाल समाजवादी पार्टी नेसपासम्म आइपुग्दा उहाँले आधा दर्जन पार्टी र चुनाव चिन्ह बदलिसक्नुभएको छ । जेनजी आन्दोलनपछि नेसपाको अध्यक्ष पद त्यागेर नयाँ शक्तिहरूलाई एकजुट बनाउने अभियानमा लाग्नुभएका भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको ब्यानरमा हुनुहुन्छ ।

२०७९ को कसम र २०८२ को युटर्न

२०७९ को आम निर्वाचनअघि भट्टराईले सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो, ‘म अब प्रत्यक्ष निर्वाचन लड्दिनँ, नयाँ पुस्तालाई बाटो छोड्छु ।’ उहाँले आफ्नै क्षेत्र गोरखा–२ पुष्पकमल दाहाल ुप्रचण्डुलाई सुम्पिँदा धेरैले यसलाई त्याग भनेका थिए । तर, यो त्याग अल्पकालीन सावित भयो ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भट्टराईले आफ्नै कसम तोड्दै गोरखा–२ बाटै उम्मेदवारी दर्ता गराउनुभयो । तर, उहाँको अस्थिरता यतिमै सीमित रहेन । उम्मेदवारी दर्ता गरेको केही दिनमै उहाँले मनोनयन फिर्ता लिएको घोषणा गर्नुभयो ।
पछिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू रवि लामिछाने र स्वर्णिम वाग्लेले उहाँलाई निर्वाचन नलडी अभिभावक बन्न आग्रह गरेका थिए । वाग्लेले उहाँलाई भेटेपछि सामाजिक संजालमा सार्वजनिक अपिल नै गर्नुभयो । लगत्तै भिडिओ सन्देश दिएर उहाँले नयाँलाई सघाउने घोषणा गर्नुभयो । अहिलेसम्म भट्टराईले गोरखामा कसलाई सघाउने स्पष्ट पार्नु भएको छैन । तर, रास्वपाका नेताहरूले भने आफूहरूलाई सहयोग हुने भन्दै धन्यवाद दिइरहेका छन् ।

मतदातामा पर्ने प्रभाव र राजनीतिक भविष्य

कहिले लड्ने, कहिले छाड्ने, कहिले पार्टी फुटाउने त कहिले जुटाउने । यो अस्थिरताले बाबुराम भट्टराईसँग बाँकी रहेका कार्यकर्तामा पनि अन्योल सिर्जना गरेको छ । उहाँको अस्थिर चरित्रले केवल उहाँको व्यक्तित्वलाई मात्र होइन, उहाँले उठाउँदै आएको वैकल्पिक राजनीतिको एजेन्डालाई समेत कमजोर बनाएको छ । यसपटकको निर्वाचनमा बाबुराम मैदानमा नहुँदा गोरखा–२ को चुनावी अंकगणित फेरिने छ । राजनीतिक परिदृष्यमा बाबुराम भट्टराईको नाम एउटा स्वप्नद्रष्टा नेताका रूपमा छ । तर, अस्थिर राजनीतिक चरित्र र पटक–पटकको यु–टर्नले उहाँलाई इतिहासको कठघरामा उभ्याइदिएको छ । माओवादी द्वन्द्वदेखि संविधानसभासम्म र नयाँ शक्तिदेखि उम्मेदवारी फिर्तासम्म आइपुग्दा बाबुरामले के पाउनुभयो, त्यो उहाँले जान्ने कुरा हो । तर, वैचारिक नेतृत्वका रुपमा स्थापित उहाँको छबिलाई धेरै फाइदा गरेको छैन । अब उहाँले नयाँ र अग्रगामी सोच भएका शक्तिको अभिभावक भएर बस्ने बताउनु भएको छ । रास्वपाका नेताहरू पनि त्यस्तै अभिभावकको खोजीमा देखिन्छन् । फेर अर्को टर्न लिएर बाबुराम रास्वपातिर जानु होला त ? अहिले यो पनि चासोको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय