काठमाडौं । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलमा सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पार्ने तथा अवैध रूपमा विचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालय, सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिष्ठान परिसरमा बिरामी र आफन्तलाई विभिन्न निजी मेडिकलतर्फ लैजान सक्रिय विचौलियाको चलखेल भइरहेको सूचनाका आधारमा विशेष निगरानी गरिएको थियो ।
प्रहरीका अनुसार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरी, मोरङ, उदयपुर, भोजपुर, सप्तरी र धनुषा जिल्लाका २० देखि ४० वर्ष उमेर समूहका १० जना रहेका छन्
जिल्ला प्रहरी कार्यालय सुनसरीले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी, पारदर्शी र विचौलियामुक्त बनाउन यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ । साथै, बिरामी तथा सेवाग्राहीलाई कुनै पनि व्यक्तिको प्रलोभनमा नपरी आवश्यक सेवा स्वास्थ्य संस्थाको आधिकारिक प्रक्रिया अनुसार मात्र लिन आग्रह गरेको छ ।



