सिरहा — हेल्पिङ हर्ट नेपालले सिरहा जिल्लाका बुबा गुमाएका तथा आर्थिक रूपमा विपन्न १०० जना विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ। अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका बालबालिकालाई लक्षित गरी संस्थाले प्रत्येक विद्यार्थीलाई १० हजार रुपैयाँ नगदसहित स्कुल ब्याग, शैक्षिक सामग्री र सरसफाइका सामग्री उपलब्ध गराएको हो।
संस्थाका अनुसार सहयोग पाउने विद्यार्थीमध्ये केहीले दुर्घटनामा बुबा गुमाएका छन् भने केहीका बुबाको बिरामी तथा अन्य कारणले मृत्यु भएको छ। अभिभावकको निधनपछि परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढाइ प्रभावित हुन नदिन सहयोग गरिएको संस्थाले जनाएको छ।



हेल्पिङ हर्ट नेपालले बुबा गुमाएका तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई विगत पाँच वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ। संस्थाले यसअघि प्रत्येक विद्यार्थीलाई मासिक ५ हजार रुपैयाँका दरले सहयोग गर्दै आएकोमा यस वर्ष दुई महिनाको रकम १० हजार रुपैयाँका दरले एकैपटक उपलब्ध गराएको जनाएको छ।
सहयोग प्राप्त गर्ने विद्यार्थीहरू १० देखि १५ वर्ष उमेर समूहका छन्। सिरहाका विभिन्न स्थानीय तहबाट छनोट गरिएका विद्यार्थीमध्ये गोलबजार नगरपालिकाका २६, अर्नमा गाउँपालिकाका १६, सिरहा नगरपालिकाका २१, लहान नगरपालिकाका ८, धनगढीमाई नगरपालिकाका ९, नरहा गाउँपालिकाका ५, कर्जन्हा नगरपालिकाका ४, कल्याणपुर नगरपालिकाका ३ र मिर्चैया नगरपालिकाका २ जना रहेका छन्। यस्तै, सप्तरीको खडक नगरपालिकाका ६ जना विद्यार्थीले पनि सहयोग प्राप्त गरेका छन्।
संस्थाका अनुसार सहयोग पाउने विद्यार्थीहरू श्रेष्ठ, विश्वकर्मा, राम, यादव, साह, महरा, सदा, खान, महतो लगायत विभिन्न समुदायका छन्। विभिन्न समुदाय र स्थानीय तहबाट विद्यार्थी छनोट गरी उनीहरूको आर्थिक अवस्था तथा अभिभावकको अवस्थालाई आधार बनाएर सहयोग गरिएको हो।
नगद सहयोगसँगै शैक्षिक तथा सरसफाइ सामग्री प्रदान गरिएकाले विद्यार्थीको दैनिक शैक्षिक आवश्यकतामा समेत सहयोग पुग्ने संस्थाको विश्वास छ। बुबा गुमाएपछि आर्थिक अभावका कारण विद्यालय जान तथा पढाइलाई निरन्तरता दिन समस्या भोगिरहेका बालबालिकालाई यस्तो सहयोगले केही राहत पुग्ने बताइएको छ।
हेल्पिङ हर्ट नेपालले पाँच वर्षदेखि सञ्चालन गर्दै आएको यो कार्यक्रमले अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न सहयोग गर्दै आएको जनाएको छ। संस्थाका अनुसार आगामी दिनमा पनि आवश्यकता र स्रोतअनुसार यस्ता विद्यार्थीलाई सहयोग निरन्तरता दिने उद्देश्य रहेको छ।
अभिभावक गुमाएका बालबालिकाको शिक्षा रोकिँदा उनीहरूको भविष्यमा दीर्घकालीन असर पर्न सक्ने भएकाले आर्थिक सहयोगसँगै शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम प्रभावकारी हुने संस्थाको भनाइ छ। पछिल्लो सहयोगले सिरहाका १०० विद्यार्थी र उनीहरूका परिवारलाई तत्काल आर्थिक तथा शैक्षिक राहत पुगेको छ।



