गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीले विभिन्न स्थानमा पुल, घर तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीले बस्तीमा समेत क्षति पुर्याएपछि स्थानीय त्रसित बनेका छन्।प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ।
चुमनुब्री–३ सिर्दिबासमा रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। माछीखोलाको तल्लो बस्तीमा ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ। सल्लेरीमा २०–२२ वटा घर जोखिममा परेका छन्।



त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बगाएको छ। चुमनुब्री–३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावरहाउस र आसपासका ७–८ वटा घरसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीबाट भएको क्षतिको विवरण प्रारम्भिक रहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।



