काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१० स्थित बोसीगाउँमा न्हय्गां जात्रा अर्थात सातगाउँले जात्राको तीब्र तयारी गरिंदै छ । बाला चतुर्दशीका दिन वडा भित्र र बाहिर रहेको राजकुलो, ढल तथा प्रत्येक टोलटोल सफा गरिन्छ । यसलाई न्हय्गां जात्रा अर्थात सातगाउँले जात्राको पूर्व तयारीको रुपमा लिईन्छ । धःज्यामा प्रत्येक घरबाट अनिवार्य रुपमा एक–एक सदस्य सहभागी हुनुपर्ने छ हुन्छ । राजकुलो, ढल तथा प्रत्येक टोलटोल सफा गरिसकेपछि द्यःगुथि मध्यका सदस्यले सहभागि सबैलाई खाना खुवाऊने गरिन्छ ।




स्थानीय विकसन महर्जनका अनुसार आजकै दिन बोसीगाउँको भैरव र गणेशको प्रतिक तेपः क्वों द्यः (घ्याम्पो) लाई विधिवत् रूपमा पुजा गरि भैरव मन्दिर भित्र प्रतिस्थापन गरिन्छ । यो सँगै न्हय्गां जात्रा (बोसीगां भैरव जात्रा) विधिवत् रूपमा सुरू भएको र देवताको प्रसाद स्वरुप लिइने थ्वंः सहितको उक्त क्वों द्यः स्थापना गरिएको बताउनु हुन्छ । द्यः स्थापनाको चार दिनपछि ढोका खोली स्थापना गरेको प्रसाद (जाँड)लाई चलाइन्छ । पुनः ढोका बन्द गरिन्छ । त्यसपछि भैरव मन्दिर पूर्णरुपमा जात्राको अष्टमी दिन अर्थात् छोएला बुःको अघिल्लो रातसम्मका लागि बन्द गरिन्छ । क्वों द्यः (घ्याम्पो) लाई मन्दिर भित्र बन्द गरी राख्नुको अर्थ त्यसमा देवताको प्राण भर्नु भन्ने जनविश्वास रहेको छ ।

महर्जनका अनुसार उक्त क्वों द्यः क्रमशः अष्टमी अर्थात् छोएला बुः (मंसिर १२) गते गणेश क्वों द्यः र दशमी अर्थात् सिन्हःया (१४ गते ) भैरव क्वों द्यः मन्दिरबाट निकालिन्छ । यसरी क्वों द्यः (घ्याम्पो) मंसिर ३ गते स्थापना गरेपछि मंसिर ८ गतेदेखि ११ गतेसम्म प्रत्येक दिन साँझ ६ बजेदेखि ८ बजेभित्र भैरब मन्दिर अगाडी विभिन्न बाजागाजा परिक्रममा गरिन्छ । जसलाई न्युट भनिन्छ ।

यस्तै मंसिर १२ गते, अष्टमीका दिन विहान सबेरै २ देखि ३ बजे मन्दिर भित्र राखिएको गणेशको क्वं द्यः लाई बखु (विष्णु देवी मन्दिर) लगेर बलिसहितको विधिपूर्वक पूजा गरिन्छ । विहान ७ बजेदेखि ८ बजे भित्र पुनः बोसीगाउँमै फर्काई भैरब मन्दिर अगाडीको दबूमा राखिन्छ । यो दिन जात्रा भोजको लागि आवश्यक तःखा बनाई छोएला खाएर मनाइन्छ ।

यसैगरी मंसिर १३ गते नवमी (मु या) का दिन ९ देखि १० बजेतिर भैरबको ढकी जात्रा गरिन्छ । मंसिर १४ गते दशमी (सिन्हःया) का दिन सिन्दुर जात्रा गरिन्छ । नवमी सकिएपछि दशमीको मध्यरातमै भैरब जात्रा सुरु हुनेछ । बिहान भैरब रथ (भेलु द्यः) लाई बखु लगेर दिनभर जात्रा गरिन्छ । दशमी सुरु भएको मध्यरात र दिनभर जात्रा हुन्छ र राति १० देखि ११ बजेतिर न्हय्गां जात्रा अर्थात सातगाउँले जात्रा सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट एकादशीको विहान ७–८ बजेतिर थकालीको घरमा प्रत्येक बाजा खलः गुठीयार भेला भई दबः खुशीमा गई मुख धुन जाने परम्परा रहेको छ ।
स्थानीय विकसन महर्जनले अहिले सातगाउँले जात्रा भन्न थालिए पनि यो जात्राको पुरानो नाम न्हय्गां जात्रा भएको बताउनु भयो । उहाँले समयको परिवर्तनसँगै अहिलेका युवा पुस्ताले पुराना सस्कृतिलाई अनुशरण गर्न नसक्दा पहिलेको सबै कुरा भुल्दै गएको हुँदा अबका यूवा पुस्ताले यो जात्रालाई पुरानै नामबाट मान्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले यदि पुराना कुरालाई विर्सदै जाने हो भने एक दिन यो जात्राको अस्तित्व नै मेटिन सक्ने भएकोले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भयो ।



