काठमाडौं – बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेश सरकारकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेमगर झण्डै डेढ वर्ष भारतमा उपचार गराएर यही हप्ताभित्र स्वदेश फर्किने भएकी छन्। कलेजो प्रत्यारोपणसहितको जटिल उपचार सफलतापूर्वक सम्पन्न भएपछि चिकित्सकले उनलाई घर फर्किन अनुमति दिएका हुन्।

लामो समय जीवन र मृत्युबीच संघर्ष गरेकी आलेमगरले भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपण गराएकी थिइन्। प्रत्यारोपणपछि लामो समय चिकित्सकको निगरानीमा पुनःस्थापना उपचार गरेपछि अहिले उनको स्वास्थ्य सामान्य अवस्थामा पुगेको चिकित्सकले बताएका छन्।

आलेमगरले आफ्नो उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै उपचार अवधिभर स्वास्थ्य लाभको कामना गर्ने, प्रार्थना गर्ने, हौसला र साथ दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। उनले चिकित्सकको सल्लाहअनुसार केही समय नियमित स्वास्थ्य परीक्षण र औषधि सेवनलाई निरन्तरता दिने बताएकी छन्।

२०७४ /२०७९ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० (ख) बाट लगातार निर्वाचित आलेमगर बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी थिइन्। मन्त्रीका रूपमा उनले खेलकुद पूर्वाधार निर्माण, युवा लक्षित कार्यक्रम तथा स्थानीय विकासका योजनालाई प्राथमिकतामा राखेकी थिइन्। सरल, इमानदार र विकासमुखी नेतृका रूपमा उनको परिचय रहेको छ।

सामान्य स्वास्थ्य समस्याबाट सुरु भएको उपचारक्रम पछि जटिल बन्दै गएको थियो। प्रारम्भमा पेट तथा आन्द्रासम्बन्धी समस्या देखिए पनि पछि कलेजोमा गम्भीर संक्रमण पुष्टि भएपछि प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आएको थियो। त्यसपछि उनी थप उपचारका लागि भारत गएकी थिइन्।

उनको लामो अनुपस्थितिका कारण विशेषगरी काठमाडौंको पश्चिमी भेग तथा चन्द्रागिरि क्षेत्रका केही विकास आयोजना प्रभावित बनेका थिए। आर्थिक वर्ष २०८३/८४ का लागि उनले प्राथमिकतामा राखेका केही क्रमागत आयोजना र नयाँ योजनाको छनोट प्रक्रिया पनि अपेक्षित गतिमा अघि बढ्न सकेन। स्थानीयवासी र समर्थकहरूले उनको अनुपस्थितिले विकास निर्माणका काममा असर परेको बताउँदै आएका थिए।

पूर्ण स्वास्थ्य लाभपछि स्वदेश फर्किन लागेकी आलेमगर अब क्रमशः सार्वजनिक जीवन र राजनीतिक गतिविधिमा सक्रिय हुने अपेक्षा गरिएको छ। उनका समर्थक तथा शुभेच्छुकहरूले उनको पुनरागमनलाई स्वागत गर्दै आगामी दिनमा पुनः जनसेवा र विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय