नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा अवैध रूपमा विदेश पठाउने सञ्जाल सक्रिय रहेको खुलिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा गरेको छापाले यस अवैध कारोबारमा गृह मन्त्रालयका उच्च तहसम्मको संलग्नता संकेत गरेको छ।

अख्तियारले बुधबार अध्यागमन कार्यालयमा छापा मार्दै प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूका कम्प्युटर, मोबाइल र अन्य उपकरणहरू जफत गरिएको छ। गृहमन्त्री रमेश लेखककै सिफारिसमा भट्टराईलाई अध्यागमनको जिम्मेवारी दिइएको थियो।

सूचना अनुसार, खाडी मुलुक जाने यात्रुहरूसँग ५० हजार रुपैयाँ र युरोपियन मुलुक जान चाहनेहरूसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको थियो। दैनिक सयभन्दा बढी यात्रु यसै प्रक्रियाबाट विदेश जान्थे, जसबाट दिनको ५० लाख रुपैयाँसम्म असुली हुने गरेको अनुमान गरिएको छ।

छापाअघि भट्टराईलाई गृहमन्त्रीकै निर्देशनमा हतारमा मन्त्रालयमा सरुवा गरिएको थियो, तर उनले कार्यभार हस्तान्तरण नगरेका कारण अख्तियारले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो। भट्टराई विवादास्पद पृष्ठभूमिका कर्मचारी हुन्, जसविरुद्ध विगतमा पनि भ्रष्टाचारको मुद्दा परेको थियो।

अख्तियारले बरामद गरेका उपकरणहरूबाट थप प्रमाण र सञ्जालबारे विवरण खुल्ने अपेक्षा गरिएको छ। प्रारम्भिक अनुसन्धानमा भट्टराईले आफ्नै टोली बनाएर अध्यागमनबाट मानव तस्करीमा संलग्न रहेको देखिएको छ। ट्राभल एजेन्सीहरू, केही कर्मचारी र राजनीतिक पहुँच भएका ट्रेड युनियन नेताहरू पनि यसमा जोडिएका छन्।

अध्यागमन कार्यालयमा अधिक पदाधिकारीहरू तोकिएको संख्याभन्दा बढी खटिएको पाइएको छ। त्यहाँ जानको लागि लाखौं रुपैयाँ बुझाएर सरुवा गरिने प्रचलन पनि रहेको छ।

पछिल्लो समय भिजिट भिसाको नाममा विदेश पुगेका थुप्रै नेपाली महिलाहरू मध्यपूर्वका मुलुकहरूमा बेचिएको र उनीहरूले उद्धारको लागि गुहार गरिरहेको अवस्था समेत देखिएको छ। यसले राज्य संयन्त्रभित्रको गम्भीर लापरवाही र संरक्षित मानव तस्करीको संकेत गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय