काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई भारतबाट नेपाल फर्काइएको छ । भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावासहितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका प्रहरी र कर्मचारीको टोलीले ४७ महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको बताइएको छ । उक्त महिलाहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।



यसैबीच, गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।



