रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। बाढीका कारण नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका मितेरी पुल पूर्णरूपमा भत्किएको छ भने भन्सार क्षेत्रका कन्टेनर तथा सवारी साधन समेत बगाएका छन्। अहिलेसम्म ३ जना सुरक्षाकर्मीसहित १५ जना नागरिक बेपत्ता भएको पुष्टि भएको छ। बाढीबाट उत्पन्न संकटलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक आफ्ना सबै निर्धारित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत जनतालाई जानकारी गराउँदै बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ गरिरहेको जानकारी दिनुभएको हो।



प्रधानमन्त्री ओलीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको शीघ्र उद्धारको अपेक्षा समेत गर्नुभएको छ। साथै, सरकारको तर्फबाट गृह मन्त्रालयमा मंगलबार दिउँसो १ बजे केन्द्रीय सुरक्षा समिति तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक डाकिएको छ। यस घटनाले भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ। मितेरी पुलको भत्किँदा नेपाल–चीन व्यापारमा तत्काल असर देखिएको छ भने रसुवागढी नाकाको भन्सार क्षेत्रका दर्जनौं कन्टेनर र सवारीसाधनहरु बगाएका छन्।
बाढीपछिको स्थिति प्रति चिन्ता व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले सरकारलाई उद्धार तथा राहत कार्यमा तत्काल पूर्ण सक्रियता देखाउन आग्रह गर्नुका साथै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि प्रत्यक्ष रुपमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनुभएको छ। यसैगरी, सत्तारुढ दल नेपाली कांग्रेसले पनि घटनाप्रति दुःख व्यक्त गर्दै जारी गरेको विज्ञप्तिमा उद्धार तथा राहतमा युद्धस्तरको सक्रियता आवश्यक रहेको उल्लेख गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ। उद्धार कार्य जारी छ, तर भारी वर्षाका कारण अझै जोखिम कायम रहेको स्थानीय प्रशासनले जनाएको छ।



