काठमाडौं, भदौ २२ – नेपालमा पछिल्ला दिनहरूमा बढ्दो भ्रष्टाचार, नातावाद, सार्वजनिक सेवा प्रणालीमा देखिएको बेथिति, र सरकारको अकर्मण्यताविरुद्ध आवाज उठाउने काम अब जेन जेड पुस्ताले थालेका छन्। काठमाडौंको माइतीघर मण्डलामा स्वतस्फूर्त रूपमा आयोजित शान्तिपूर्ण प्रदर्शनले देशभरि नयाँ आशा र चेतनाको सन्देश फैलाएको छ। २८ वर्षमुनिका युवायुवतीको सक्रिय सहभागिता रहेको यस प्रदर्शनमा स्कुल ड्रेस, झोला, किताब बोकेका विद्यार्थीहरूदेखि राष्ट्रिय झण्डा लिएका युवाहरू सहभागी थिए। राष्ट्रभक्ति गीतहरू गाउने, सशक्त नाराहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गर्ने जस्ता गतिविधिमार्फत उनीहरूले आफ्नो असन्तुष्टि अभिव्यक्त गरे।
नारा मात्रै होइन, प्रतिबद्धता पनि :



प्रदर्शनमा ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेन जेड चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज, हाम्रो अधिकार’, ‘स्टप करप्सन’, जस्ता नारा लेखिएका प्लेकार्डहरू देखिएका थिए। उनीहरूले आफूहरू कुनै राजनीतिक स्वार्थमा नभई देशको भविष्यका लागि आन्दोलनमा उत्रिएको स्पष्ट सन्देश दिएका छन्। प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने उनीहरूको सामूहिक प्रतिबद्धता उल्लेखनीय रह्यो। रुखबिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, तोडफोड र आगजनी नगर्ने, सभ्य र जिम्मेवार रूपमा प्रस्तुत हुने जस्ता कुराहरूमा उनीहरूले विशेष ध्यान दिएका थिए।
राजनीतिक हस्तक्षेप अस्वीकार्य, समर्थन भने स्वागतम्
प्रदर्शनको आह्वान कुनै राजनीतिक दल वा संगठनबाट नभई सामाजिक सञ्जालमार्फत स्वतस्फूर्त रूपमा भएको हो। जेन जेड पुस्ताले राजनीतिक दलका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा सहभागी नहुन आग्रह गरेका थिए। यद्यपि, कलाकार, समाजसेवी, विभिन्न पेशागत क्षेत्रका व्यक्तित्व र केही राजनीतिज्ञहरूले प्रदर्शनलाई नैतिक समर्थन दिएका छन्।
देशव्यापी फैलिँदो लहर :
यो आन्दोलन काठमाडौंमा मात्र सीमित छैन। जेन जेड पुस्ताले रुपन्देही, दाङ, चितवन, पोखरा लगायत देशका विभिन्न भागहरूमा पनि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। सामाजिक सञ्जालमा फैलिएको ३क्तयउऋयचचगउतष्यल, ३न्भलश्ँयचऋजबलनभ जस्ता ह्यासट्यागमार्फत आन्दोलनको सन्देश अझ फैलिँदै गएको छ।
सुरक्षा व्यवस्था कडा, तर सहयोगी रवैया :
शान्तिपूर्ण प्रदर्शन भए पनि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै काठमाडौंमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच अहिलेसम्म कुनै ठूला झडप वा असहज स्थिति नदेखिएको आयोजकहरूको दाबी छ।
नयाँ पुस्ताको चेतना परिवर्तनको सम्भावना :
सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवाहरूलाई ूजेन जेडू पुस्ता मानिन्छ। यिनै युवाहरूले अहिले नेपालमा परिवर्तनको जिम्मेवारी लिने आँट देखाएका छन्। भ्रष्टाचार, नातावाद, बेरोजगारी, शिक्षा प्रणालीको अव्यवस्था, तथा युवाको विदेश पलायन जस्ता समस्याविरुद्ध उनीहरूको आवाज दिनानुदिन बलियो हुँदै गएको छ। यो आन्दोलनले नेपालमा राजनीतिक सचेतना मात्र होइन, नागरिक उत्तरदायित्व, नीतिगत सुधार र समावेशी नेतृत्वप्रति नयाँ पुस्ताको अपेक्षा के हो भन्ने प्रस्ट पार्दछ। जेन जेडको यो शान्तिपूर्ण आन्दोलनले नेपालमा आम नागरिक विशेष गरी युवापुस्ताको सोचमा ठूलो परिवर्तन ल्याएको छ। स्वार्थरहित, दूरदृष्टियुक्त र जनतामैत्री आन्दोलनको प्रारम्भले देशभित्र राजनीतिक तथा सामाजिक रूपान्तरणको नयाँ ढोका खोल्न सक्ने सम्भावना देखिएको छ। अब प्रश्न यो हो – के सत्तामा बस्नेहरूले यस चेतनालाई सुन्नेछन् ?



