बिहान करिब २:५० बजे कान्तिलोक पथ अन्तर्गत घट्टेपाखा क्षेत्रमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको भ्क्ष्ऋज्भ्च् ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।जिल्ला प्रहरीका अनुसार ट्रक सडक छेउको खाली घरमा ठोक्किँदै करिब १००–१५० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा परेर ट्रकमा सवार दुई जना गम्भीर घाइते भएका थिए । उद्धारका लागि नेपाली सेना को लेनडाँडा सुरक्षा बेसबाट सुबेदार सिताराम कार्कीको कमाण्डमा १० जनाको टोली खटिएको थियो भने प्रहरी टोली पनि तत्काल घटनास्थल पुगेको थियो ।
घाइतेमध्ये एक जनालाई बिहान ४:३० बजे उद्धार गरी हेटौडा अस्पताल पठाइएकोमा उपचारका क्रममा बिहान ६:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक पर्सा वीरगञ्ज महानगरपालिका–३२ बस्ने अन्दाजी २० वर्षीय सन्तोष यादव रहेको खुलेको छ । अर्का घाइते ट्रक चालक पर्सा वीरगञ्ज–३२ का अन्दाजी ३३ वर्षीय कृष्ण यादवको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बिहान ७:५० बजे भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको छ भने मानवीय क्षति भने घरतर्फ भएको छैन । सडक अवरुद्ध नभएको र ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ सरसामान बोकेर जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।



