काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी सुरु गरेको छ । वर्षायाम सुरु हुने समयमा विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयअगावै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले ६ वटा निर्णय गरेको हो । निर्णयका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य अधिकारीलाई विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न निर्देशन दिनुभयो । उहाँले समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि सबै सहयोग गर्न आफू तयार रहेको समेत बताउनु भयो ।

अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्ने भएको छ । साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम गर्ने बताइएको छ । महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिम प्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने छ ।

यसैगरी, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय र प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका कामहरु समेत अघि बढाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय