काठमाडौं । हुनत महादेवस्थान मातातीर्थ खानेपानी सरसफाई उपभोक्ता समितिले विभिन्न बहानामा राज्यको संरचनामाथि धावा बोल्न कहि कतै बाँकी राखेको छैन । यसैक्रममा पछिल्लो समय महादेव स्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिले खानेपानी अवरुद्ध भएको भन्दै आफुखुशी सम्बन्धित निकायसँग समन्वय नै नगरी सडक भत्काएपछि समितिलाई सडक डिभिजन कार्यालय काठमाडौंले कार्वाही गर्ने भएको छ ।




सडक डिभिजन कार्यालय काठमाडौंका साइट इञ्जिनियर रामकुमार श्रेष्ठले OURNEWSCREW.COM सँगको कुराकानीमा महादेवस्थान मातातीर्थ खानेपानी समितिले सडक डिभिजन कार्यालय, स्थानीय निकायलगायत सम्बन्धित निकायमा विना समन्वय आफु खुशी सडक भत्काएको बताउनु भयो । उहाँले फिडर रोडअन्तरगत पर्ने थानकोट चित्लाङ सडकको चेकपोष्ट देखि चन्द्रागिरि केबलकार खण्डमा सडक भत्काईनु सार्वजनिक सडक ऐन २०३१ को ठाडो बर्खिलाप भएको उल्लेख गर्नुभयो । इञ्जिनियर श्रेष्ठले सार्वजनिक निकायले ऐन कानूनको विषय जानकारी भएन भन्नु लज्जास्पद विषय भएको बताउनु भयो ।

उहाँले सडक खन्नुभन्दा अघि कुनै पनि संस्थाले डिभिजन कार्यालयमा समन्वय गर्नुपर्ने, एमओयुअन्तरगत चल्नुपर्ने भएकोले भत्काउनु पर्ने क्षेत्र नापजाँच गरेर लागतस्टिमेटसहितको धरौटी राखि कार्य गर्नुपर्नेमा समितिले आफुखुशी भत्काएकोले कानून बमोजिम कारवाही गरिने र सडक ऐन २०३१ अनुसार खानेपानी समितिले लागत खर्चमा थप केही प्रतिशत रकम थप गरी भत्काइएको सडक जस्ताको तस्तै बनाउनु पर्ने बताउनु भयो ।
यसअघि खानेपानी समितिले नगरभित्रका अधिकांश स्थानमा यसरी नै आफुखुशी भत्काउँदै काम गर्दै आएको छ ।



