काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ ले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । प्राकृतिक सम्पदाको संरक्षण गरौं भन्ने नाराका साथ वडा नं. ५ ले शुक्रबार सरसफाई गरेको हो । वडाको माथिल्लो सीमाना कमलडोजा (कालोगेट) को खोलाबाट सुरु गरेको सरसफाई वडा कार्यालयसम्म सरसफाई गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र महर्जनले सरसफाई वडाको दायित्व भएको बताउनु भयो । उहाँले बैशाख १२ गतेको मातातीर्थ औंसीका दिन लागेको मेलाका समयमा व्यवसायीहरुले राखेका पसलहरुबाट निस्केको प्लाष्टिक र फोहोर खोलामा फालिएकोले खोलाको सरसफाई गरिएको जानकारी दिनुभयो । उहाँले जथाभावी खोलामा फोहोर फालिदिंदा वडाको शौन्र्दयतामा आँच आउने भएकोले वडाबासीको साथमा खोला सरसफाई गरिएको र वडाबासीलाई आफ्नो घरवरपरको फोहोर तोकिएको स्थानमा व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो ।

वडा सदस्य सरिता थापा र महेन्द्र महर्जनले मातातीर्थ विकास संस्थाले मातातीर्थ औंशीमा भाडा लिएर व्यापार सञ्चालन गरेको तर, मेलापछि संस्थाले कुण्ड वरपरमात्र सफाई गरी अन्यत्र फोहोर छोडी दिएको भन्दै सरसफाई नगरेकोमा गुनासो गर्नुभयो । साथै उहाँहरुले अरुको मुख ताक्नु भन्दा आफ्नो वडा आफैं मिलेर सफाई गरेको पनि बताउनुभयो ।

सरसफाईमा स्थानीय, पूर्व सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय