काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातीर्थस्थित मातातीर्थ संरक्षण तथा विकास संस्थाले मातातीर्थ औँसी मेला तथा धार्मिक कार्यक्रमहरूको सफल व्यवस्थापनमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।

‘आमाको मुख हेर्ने दिन’ अर्थात् मातातीर्थ औँसीको अवसरमा आयोजित मेला तथा धार्मिक गतिविधिहरूको सफल सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरूलाई सोमबार आयोजित विशेष समारोहबीच कदरस्वरूप मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो ।

‘आमा’ सन्ध्याकालीन आरती कार्यक्रमको अवसरमा आयोजित सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई थप उजागर गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले मेलाको सफल व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य संस्था, सञ्चारकर्मी तथा स्वयंसेवी संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता व्यक्त गरे ।

सम्मानित हुनेहरूमा चन्द्रागिरि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सञ्जय सिग्देल, प्रहरी वृत्त थानकोटका प्रमुख दीपकबहादुर केसी, बलम्बु प्रहरी प्रभागका प्रमुख लक्ष्मी खड्का, यगचलभधकअचभध का सञ्चालक तथा चन्द्रागिरि मिडिया सेन्टरका अध्यक्ष विनोद लामिछाने, शोणितपुर मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक देवेन्द्र महत, चन्द्रागिरि मेट्रोका सञ्चालक गोपाल पाठक रहेका छन् ।

त्यसैगरी नेपाल स्काउट आकाश भैरव ओपन क्रु, पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरि, सहिद मेमोरियल अस्पताल, भकुण्डेचौर युवा समूह, वैकुण्ठधाम चन्द्रागिरि, भजन सेवा नेपाल तथा महादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक अञ्जना कुँवर, मेलाका अवसरमा खाजाखाना व्यवस्थापनका संयोजक पुरुषोत्तम उदास र धर्मानन्द श्रेष्ठलगायत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरू पनि सम्मानित भएका छन् ।

सोही अवसरमा सन्ध्याकालीन गंगा आरतीसमेत सम्पन्न गरिएको थियो । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आरती कार्यक्रममा स्थानीय, भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आरतीले मातातीर्थ क्षेत्रको धार्मिक गरिमा थप उचो बनाएको सहभागीहरूले बताएका छन् ।

मातातीर्थ औँसीलाई नेपाली समाजमा आमाप्रतिको श्रद्धा, सम्मान र स्मरणसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ । यस अवसरमा आयोजित मेला, धार्मिक अनुष्ठान तथा सामाजिक कार्यक्रमहरूले मातातीर्थ क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुगेको विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय