सिन्धुपाल्चोक – मापदण्ड पूरा नगरी सञ्चालन भएका जिल्लाका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकलाई सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिका–स्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रा.लि. सिल गरिएको हो।

जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) अनुसार कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएपछि ती स्वास्थ्य संस्थामाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अनुगमनका क्रममा सम्बन्धित स्वास्थ्य संस्थाले आवश्यक अनुमति नलिएको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, स्वास्थ्य सेवा सञ्चालनका लागि तोकिएका मापदण्ड पूरा नगरेको र अनधिकृत रूपमा ल्याब तथा एक्स–रे सेवा सञ्चालन गरेको पाइएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र सम्बन्धित निकायको संयुक्त टोलीले जिल्लाका निजी स्वास्थ्य संस्थाको अनुगमन गर्दै आएको थियो। पटक–पटक पत्राचार गरी दर्ता नवीकरण तथा कानुनी प्रक्रियामा आउन निर्देशन दिए पनि अटेर गरेपछि सिल गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले जिल्लाभर बजार तथा स्वास्थ्य संस्थाको अनुगमनलाई थप तीव्र बनाइएको जनाएको छ। कानुन विपरीत सञ्चालन भएका र मापदण्ड नपुगेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने प्रमुख जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

यता, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि निजी स्वास्थ्य संस्थाको नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। कार्यालयले सबै स्वास्थ्य संस्थालाई प्रचलित कानुनअनुसार दर्ता, नवीकरण गरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरेको छ।

बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। जनस्वास्थ्यसँग खेलवाड गर्ने र कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन हुने कुनै पनि स्वास्थ्य संस्थामाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय