काठमाडौं । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा निजी नम्बर प्लेटका गाडी पार्क गरिएपछि पत्रकारहरूको आवतजावत तथा समाचार संकलन प्रभावित भएको छ ।

बिहान करिब साढे ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अगाडि गाडी पार्क गरिएका हुन् । गाडीका कारण कार्यालयमा सवारी साधन आवतजावतमा अवरोध भएको तथा रिपोर्टिङका लागि निस्किनुपर्ने पत्रकारहरू प्रभावित भएका छन् ।

तीनवटै गाडी निजी नम्बर प्लेटका रहेको जनाइएको छ । गाडी कसले र किन त्यहाँ पार्क गरेको हो भन्ने खुलेको छैन । सम्बन्धित मिडिया हाउसहरूले घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पठाइएको बताए । उनका अनुसार प्रहरीले गाडीमा ह्विललक लगाइसकेको छ भने गाडी हटाउने र घटनाबारे अनुसन्धान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यसअघि सम्बन्धित मिडिया हाउसहरूले बिहानै ट्राफिक प्रहरीलाई गाडी हटाइदिन अनुरोध गरेका थिए । तर गाडी हटाउने प्रक्रिया भने बिहान ११ बजेपछि मात्रै सुरु भएको जनाइएको छ ।

उल्लेखनीय रूपमा, हालै काठमाडौं महानगरपालिका प्रहरी र नेपाल प्रहरीको भूमिकामाथि प्रश्न उठाउने समाचारहरू यी मिडिया हाउसहरूले प्रकाशन तथा प्रसारण गरेका थिए । यद्यपि, गेट अगाडि गाडी पार्क गरिएको घटनाको त्यससँग कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा हालसम्म आधिकारिक पुष्टि भएको छैन । प्रहरीले सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ ।.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय