काठमाडौं । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन रावण वध उत्सव मनाइँदै छ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।
वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको संहार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन्द (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाउनुभएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गर्नुभएको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ ।



दशहारा (दशैं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गर्नुभएको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास छ । सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गर्नुभएको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गर्नुभएको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको कथन छ ।
मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजाका साथ जलाशयमा पुर्याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ ।



