मुस्ताङ । मुस्ताङका चारवटा पालिकामा दुई दर्जन बढी अस्थायी घुम्ती गोठ निर्माण गरिएको छ । जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौंंरी तथा च्याङ्ग्रापालक किसानलाई घुम्ती गोठ निर्माण गरिएको हो ।
हिउँदको समयमा जाडो हुने भएकाले बेँसीमा झारिने यहाँका याकचौंरी तथा च्याङ्ग्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ । गाउँपालिकाले याकनाक तथा चौंरीपालक किसानलाई लक्षित गरी चालु आर्थिक वर्षमा याकचौंरीपालक किसानका लागि आवश्यक पूर्वाधार निर्माण’ शीर्षकमा आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।थासाङ गाउँपालिकाका लागि याक प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारले सशर्त अनुदान स्वरुप १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।



ढुङ्गाको पर्खाल, काठको बार र जस्ताले छाएर अस्थायी किसान बस्ने गोठ निर्माण गरिएको छ । गोठ निर्माणसँगै उच्च लेकमा याकचौंरी रेखदेख गर्ने गोठालालाई बस्न सहज भएको छ । थासाङमा २३ परिवारले याकचौंरीपालन गरेपनि २० घर हिमायन यांकचौंरी तथा संरक्षण समितिमा दर्ता छन् ।
अस्थायी गोठ निर्माणसँगै गोठाला बस्ने र खाने सुविधा सहज भएको छ । गोठभित्रै बसेर दूध, दही, घ्यू र छुर्पीलगायत परिकार बनाउन सजिलो भएको छ ।
हिमाली जिल्ला मुस्ताङमा बर्सेनी जेठदेखि असोजसम्म उच्च लेकमा याकचौंरी तथा भेडाच्याङ्ग्रापालन गरिन्छ भने हिउँदयाम लागेपछि मंसिरदेखि बैशाखसम्म उच्च लेकका याकचौंरी तथा भेंडाच्याङ्ग्रा बस्ती नजिकै स्थान्तरण गरिन्छ ।



