पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको राजनीतिबाट अब पछाडि नहट्ने उद्घोष गर्नुभएको छ । शुक्रबार काठमाडौंको एक बैंक्वेटमा एमालेको पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गरी उहाँले राजनीतिमा फर्किने तयारीसहित पार्टी सदस्यता नवीकरण गरेको अवस्थामा अब पछाडि नहट्ने सन्देश दिनुभएको हो । तर भण्डारीले अब कसरी राजनीतिमा रहने भन्नेबारे भने स्पष्ट पार्न सक्नुभएन ।
नेकपा एमालेले सदस्यता स्थगित गर्ने निर्णय गरेपछि यसबारे प्रतिक्रिया दिन पत्रकार सम्मेलन गरेकी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किनु आफ्नो मौलिक अधिकार भएको दाबी गर्नुभयो । पूर्वराष्ट्रपतिका रुपमा राजनीतिमा पुनरागमनका लागि कुनै संवैधानिक अड्चन नभएको भन्दै भण्डारीले एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णय स्वतन्त्रताको हक विरुद्धमा भएको आरोप लगाउनुभयो ।



राष्ट्रपति हुनुपूर्व ३५ वर्षसम्म एमालेको सदस्यका रुपमा काम गरेको र अहिले एमाले सदस्य रहेको ४५ वर्ष पुगेको स्मरण गर्दै भण्डारीले आफूलाई राजनीतिमा कसैले रोक्न नमिल्ने बताउनुभयो । आफूलाई रोक्ने गरी एमालेले गरेको निर्णय वैध नहुने दाबी गर्दै भण्डारीले भन्नुभयो, मेरो सदस्यता कसैले खान सक्दैन । भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी आफ्नो सदस्यता नवीकरण र राजनीतिमा पुनरागमनको उद्देश्यसमेत बताइसक्दा पनि त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले सदस्यता स्थगन गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
भण्डारीको पत्रकार सम्मेलन मुलतः एमालेमा आफ्नो पक्षमा रहेका नेताहरुलाई ढुक्क र दृढ भएर अघि बढ्न आग्रह गर्नु रहेको देखिन्छ । उहाँले भन्नुभएको छ, ‘मेरो यो आग्रह र संकल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुनेछैन । त्यसैले म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरुालई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन आह्वान गर्दछु ।’
मदन भण्डारीको तस्बिरसहित नेकपा एमालेको व्यानरमा पत्रकार सम्मेलन गर्नुभएकी जबकले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणको निष्ठापूर्वक रक्षा गर्न आग्रहसमेत गर्नुभएको छ । भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेकाले बाँकी जीवन देशकै सेवामा लगाउनका लागि राजनीतिमा फर्किने निर्णयमा पुगेको दाबी गर्नुभयो ।
भण्डारीले आफू राष्ट्रको सबैभन्दा माथिल्लो पदमा पुगसकेको भन्दै अब कुनै पद प्राप्तिको आकांक्षा नभएको र विशुद्ध रुपमा सेवाका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । भण्डारीले आफ्नो आगामी रणनीतिबारे जानकारी दिने अपेक्षा गरिए पनि आफ्नो सदस्यताका विषयमा एमालेले गरेको निर्णयको पेरिफेरीमा पत्रकार सम्मेलन टुंग्याउनुभएको छ ।



