काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु गरिएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेको हो ।
तामाखानी खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको छ । ओखरबोटको खानीबाट वि.सं. २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको थियो । तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्वाइ २ सय ५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । २ सय मिटर भित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् ।



मालिका गाउँपालिका– वडा नं ३ र ४ को सीमानामा ओखरबोट तामाखानी रहेको छ ।



