काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर देशको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवामय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पुरयाउनमै समर्पित रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गर्न सफल भएको उल्लेख गर्नुभयो । प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलताविस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।



राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको उल्लेख गर्दै विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको बताउनुभयो । उहाँले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवर्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यबद्धताको आधार भएको भन्दै यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यबद्धतालाई जोड दिएको महसुस भएको उल्लेख गर्नुभयो ।



