नेपालले मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको उपाधी जितेको छ । फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेर नेपालले उपाधी जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २१ रनको सानदार जित दर्ता गरेको हो । नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो ।
मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।



नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोईरालाले २३ बलमा १८ रन बनाए ।
मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १÷१ विकेट लिए । नेपाल अपराजित रुपमा उपाधी विजेता भएको छ ।



