रसुवा — रसुवामा गएराति आएको अविरल वर्षासँगैको भीषण बाढीका कारण ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्। यस्तै, ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।



प्रहरीका अनुसार चिनियाँ क्षेत्रमा परेको भारी वर्षासँगै एक्कासि आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रलाई प्रभावित बनाएको हो। राति करिब ११ बजेतिर आएको बाढीले नेपाल–चीन सिमानास्थित मितेरी पुललाई पूर्ण रूपमा क्षति पुर्याएको छ। पुल बगाएपछि नेपाल–चीनबीचको मानव तथा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीले आसपासका संरचना, ट्रान्जिट क्षेत्र र सडकहरूमा पनि ठूलो क्षति पुर्याएको छ। सम्पर्कविहीनहरू खोज्न उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले जोखिमपूर्ण क्षेत्र खाली गर्न आग्रह गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। बाढीपछि नाका क्षेत्रमा सञ्चालित व्यापारिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छ। मौसमविद्हरूले पहाडी क्षेत्रमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले थप सावधानी अपनाउन आग्रह गरेका छन्।



