काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफ्नै स्रोतसाधनसँगै दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गर्ने तयारी गरिरहेको बताउनुभयो।
उहाँले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वयको अभाव हुने गरेको गुनासो सुनिँदै आए पनि यसपटकको विपद्मा सबै तह एकै ठाउँमा उभिएर काम गर्न सफल भएको उहाँको भनाइ थियो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। सडक सञ्चालन भएपछि प्रभावित नागरिकलाई आफ्नो दैनिकी पूर्ववत् अवस्थामा फर्काउन सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।



बाढीले जोखिममा पारेका नदी तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको बताउनुभयो। नयाँ बस्ती निर्माण गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई समेत ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। खेतीयोग्य जमिनको संरक्षण गर्दै वैज्ञानिक र व्यवस्थित ढंगले बस्ती विकास गर्नुपर्ने उहाँको भनाइ थियो।
यसका लागि स्थानीय जनप्रतिनिधिहरूले सुरक्षित स्थानमा उपयुक्त जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो।
प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलले बाढीपछिको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुगेको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले यस्तो छलफलले प्रभावित नागरिकको मनोबल उच्च राख्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।



