एघार देशका राजदूत फिर्ता गर्ने निर्णय गरेसँगै सरकारले अब रिक्त ठाउँमा कसरी राजदूत नियुक्ति गर्छ भन्ने चासो बढेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती सरकारले गत वर्ष नियुक्त गरेका विभिन्न एघार देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सामान्यतया राजदूतको नियुक्तिका लागि संसदीय सुनुवाई गर्ने अभ्यास रहेकाले वर्तमान सरकारलाई राजदूत बनाएर पठाउन कानूनी अड्चन देखिन्छ ।

अघिल्ला सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता गर्ने निर्णय वर्तमान सरकारले गरेको छ । मुलुतः राजनीतिक कोटामा नियुक्त राजदूतहरु फिर्ता गरिएको दाबी सरकार पक्षको छ । तर त्यस्ता राजदूतमध्ये सबैलाई फिर्ता बोलाइएको पनि छैन । सरकारले चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा। दुर्गाबहादुर सुवेदीलाई राजदूतबाट फिर्ता बोलाएको हो ।

त्यसमध्ये १० राजदूत अघिल्लो केपी ओली सरकारले नियुक्त गरेका हुन् । ती मध्ये अधिकांश राजदूत १६ साउन २०८१ मा सिफारिस भएका हुन् ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी भने शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७९ सालमै नियुक्त हुनुभएको हो । अघिल्ला दुई सरकारले नियुक्त गरेका धेरै राजदूतलाई फिर्ता बोलाएको सरकारले ओलीले राजनीतिक आधारमै नियुक्त गरेका आधाजसो राजदूतलाई भने फिर्ता बोलाएको छैन । अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव तथा दक्षिण कोरियाका लागि राजदूत शिवमाया तुम्बाहाम्फे जो कांग्रेस र एमालेका नेता र पूर्वमन्त्री एवम् पूर्वउपसभामुख समेत हुन् । उनीहरुलाई फिर्ता बोलाइएको छैन ।

त्यस्तै, ओलीले नै नियुक्त गरेका भारतका लागि राजदूत शंकरप्रसाद शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, डेनमार्कका लागि सुम्निमा तुलाधार, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, बेल्जियमका लागि राजदूत सेवा लम्साललाई पनि फिर्ता बोलाइएको छैन । त्यस्तै, त्यसअघिको सरकारले नियुक्त गरेका क्यानडाका लागि राजदूत भरतराज पौड्याललाई पनि फिर्ता बोलाइएको छैन । लम्साल र पौड्याल पूर्वपरराष्ट्रसचिव हुन् । तर, उनीहरुलाई अवकाशमा पठाउनुअघि राजदूत बनाइएको थियो ।

सरसर्ती हेर्दा सरकारले अनुकुलताका आधारमा छानेर राजदूतहरु फिर्ता बोलाएको छ । खैर, नयाँ सरकार बनेसँगै राजदूतहरु फिर्ता गराउने होडबाजी विगत कयौँ वर्षदेखि चल्दै आएको छ । यतिबेला निर्वाचनको मुख्य म्याण्डेड पाएको सरकारले पनि विगतकै सरकारले जस्तो पूर्ववर्ती सरकारका नियुक्त खारेज गर्ने होड चलाएको देखिन्छ । तर, अब संकट भने नयाँ राजदूत नियुक्त प्रक्रियामा देखिन्छ ।

संविधानको धारा २ सय ९२ अनुसार राजदूत नियुक्ति हुनुअघि संघीय कानून बमोमिज संसदीय सुनुवाई हुनुपर्ने व्यवस्था छ । तर अहिले प्रतिनिधिसभा नभएको अवस्थामा सरकारलाई राजदूत नियुक्तिमा संकट पर्ने देखिन्छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । त्यसपछि आउने प्रतिनिधिसभाले सुनुवार्इं प्रक्रिया थाल्न त्यसपछि पनि २–३ महिनाको समय कम्तीमा लाग्नेछ । त्यस हिसाबले कम्तीमा यो वर्षभरी राजदूत नियुक्त गर्न समस्या देखिन्छ ।

अन्तरिम सरकारले यतिबेला विभिन्न देशसँगको कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउनु पर्ने अवस्था छ । एकातिर निर्वाचनका लागि समेत अन्तर्राष्ट्रिय सहयोग र विश्वासको आवश्यकता छ भने अर्कोतर्फ देशमा शान्ति पुनर्वहाली हुँदै गरेको सन्देश विश्वमाझ पुर्‍याउने, पर्यटनका सुरक्षित वातावरण बनिरहेको सन्देश पर्वाह गर्ने जिम्मेवारीसमेत राजदूतको हो । तर यहीबेला सरकारले राजदूतलाई तत्कालै फिर्ता बोलाउने निर्णय गर्दा लामो समयको रिक्तता हुने जोखिम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय