नेपालकै सबैभन्दा ठूलो ताल रारा समुद्री सतहदेखि २,९९० मिटर उचाइमा कर्णाली प्रदेशमा अवस्थित छ। रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस ताललाई देशी–विदेशी पर्यटकले प्राकृतिक खजाना र स्वर्गसँग तुलना गर्ने गरेका छन्। नीलो पानी, वरिपरि फिँजिएका हिमाल, हरियाली जंगल र सांस्कृतिक विविधताले रारालाई अझ आकर्षक बनाएको छ।



आर्थिक वर्ष २०८१-८२ मा मात्रै करिब १९ हजार ४५७ पर्यटकले रारा ताल भ्रमण गरेका छन्। निकुञ्जमार्फत सोही अवधिमा ६२ लाख ४९ हजार ३७० रुपैयाँ राजस्व संकलन भएको छ। पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बाह्यभन्दा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ। रारा पुगेका धेरैले यहाँको प्राकृतिक सौन्दर्य अनुभव गर्दै “स्वर्गमा पुगेको” अनुभूति गरेको बताउँछन्।
तर पर्यटक संख्या बढ्दै जाँदा पनि रारा पुग्ने बाटो अझै चुनौतीपूर्ण बनेको छ। सडक र अन्य भौतिक पूर्वाधारको अभावले यात्रा कठिन र जोखिमपूर्ण हुने गरेको छ। आवश्यक पूर्वाधार विकास भए राराले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने विशेषज्ञहरूको भनाइ छ।
रारा तालको सौन्दर्य मात्र नभई यहाँ पाइने दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीले यस क्षेत्रलाई जैविक सम्पदाको धरोहर पनि बनाएको छ। उच्च हिमाली शान्त वातावरण, रमणीय दृश्य र जैविक विविधताका कारण रारा ताल नेपाल पर्यटनको उज्ज्वल भविष्यको आधार बन्न सक्ने सम्भावना बोकेको छ।



