काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले खर्च न्यूनिकरणको लाग नयाँ नोट नछाप्ने भएको हो ।
यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाई खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले जानकारी दिनुभयो । दशैंका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ । यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।



दशैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने भएकोले यसलाई कमी गर्न राष्ट्र बैंकले नयाँ नोट नछाप्ने जनाएको हो । नोटको आयु सामान्यतया तीनदेखि चार वर्ष हुने बताइन्छ ।
राष्ट्र बैंकले नयाँ नोट छपाईका लागि बर्सेनी १ अर्ब ३० करोड रुपैयाँ खर्च हुँदै आएको जनाएको छ ।



