रौतहट – गौर नगरपालिका–४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा मोबाइलका स्पेयर पार्ट्स तथा सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरीले स्थानीय रास्वपा नेता भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा बुधबार नं. ११ गण हेडक्वार्टर रौतहटबाट टोली परिचालन गरिएको थियो। गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा खटिएको टोलीले गौर–४ टिकुलियास्थित साहको घरमा खानतलासी गरेको हो।
सशस्त्र प्रहरीका अनुसार एसपी जोशीको नेतृत्वमा ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले घरमा छापा मारेको थियो। खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलका विभिन्न स्पेयर पार्ट्स तथा अन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीको अनुमानित मूल्य ५० लाख १४ हजार ५०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। सोही क्रममा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। बरामद मोबाइल सामग्री तथा मोटरसाइकल आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले बरामद सामग्री अवैध रूपमा भण्डारण गरिएको जनाएको भए पनि उक्त सामग्रीको स्रोत, स्वामित्व र कारोबारसँग सम्बन्धित थप विवरण अनुसन्धानपछि खुल्ने बताइएको छ।






