काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेललाई यही भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही लगिएको प्रहरीले जनाएको छ । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको बताइएको छ । रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।






