काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ ।



आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दूरीमा दुई शव फेला परेको बताईएको छ । कार्यालयका अनुसार शवको पहिचान समेत भएको छ । शवहरू बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको रहेको प्रहरीले जानकारी दिएको छ । भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् ।
प्रहरीका अनुसार सोमबार बेलुका तीन जना किशोरी छिमेकी गाउँको विवाहमा जान भनेर घरबाट निस्किएका थिए । विवाहबाट फर्किने क्रममा उनीहरु बेपत्ता भएका थिए । उनीहरूको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । विवाहबाट फर्कँदै गर्दा भेरी नदिले बगाएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।
यस अघि अस्थायी प्रहरी पोष्ट छिनखेतबाट पनि प्रहरी छोली घटनास्थलमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



