रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ। अदालतले लामिछानेसहित प्रतिवादी बनाइएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता लिन नमिल्ने निर्णय सुनाएको हो। यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध देशका विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको थियो।



महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको थियो। सोही पृष्ठभूमिमा रुपन्देही जिल्ला अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट गरिएको मुद्दा फिर्ता सम्बन्धी निर्णयलाई अस्वीकार गर्दै मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने संकेत गरेको छ। अदालतको यस निर्णयसँगै लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दा यथावत् रूपमा अगाडि बढ्ने भएको छ। अन्य जिल्लामा दायर मुद्दाबारे भने सम्बन्धित अदालतबाट अलग–अलग निर्णय हुने बताइएको छ।



