काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

सिँचाई कुलो भत्किएर गएको पहिरोले थप दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मंगलबार बिहान करिब २ः३५ बजे घटना भएको हो । सोही वडास्थित चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको दुईतले ढुंगा–माटोले बनेको कच्ची धन्सार पूर्ण रूपमा भत्किएको थियो ।

घटनामा पुरिएका चार जनालाई इलाका प्रहरी कार्यालय भोर्लेटारबाट पुगेको टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंकु स्वास्थ्य चौकी, रामबजार पठाएको थियो । त्यसपछि उनीहरूलाई थप उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल रिफर गरिएको थियो ।

उपचारका क्रममा मस्र्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५९ वर्षीय टिकबहादुर विक र उनकी १५ वर्षीया छोरी विनिता विकको आज विहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विक घाइते भएका छन् । उनीहरूको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनाको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको बताइएको छ । प्रहरीका अनुसार कुलो भत्किएपछि आएको पहिरोका कारण धन्सार भत्किँदा मानवीय क्षति भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय