काठमाडौं । ललितपुरको ऐतिहासिक बस्ती ठेंचोमा धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार माधवनारायण नगर यात्रा सम्पन्न भएको छ । यो नगर यात्रा श्री स्वस्थानी व्रत कथाको विशेष अवसरमा आयोजना गरिएको हो र ठेंचोवासीले उत्साहजनक सहभागिता जनाएका थिए ।



यस पटकको नगर यात्रामा परम्पराअनुसार एउटा खसी बोका माथि सवार बालकलाई भगवान् शिवको प्रतीकको रूपमा मान्दै संख बजाउँदै र जल छर्किँदै नगर परिक्रमा गराइएको थियो । यात्रामा सहभागी श्रद्धालुहरूले विभिन्न रूप धारण गरी आफ्नो शरीरमा दियो र कलश बोकेर नगरका विभिन्न भागहरूको भ्रमण गरेका थिए ।
नगर यात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण मेला र जात्राको हिस्सा हो, जुन माघ शुक्ल पूर्णिमासम्म चल्ने प्रचलन छ । यस मेला र जात्रा ललितपुरको ठेंचोसँगै साँखु, भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा विशेष धार्मिक निष्ठाका साथ मनाइन्छ। विशेषगरी माघ शुक्ल द्वादशी र त्रयोदशीका दिन झाँकीसहितको जात्रा निकाल्ने परम्परा छ। आयोजकहरूले जनाए अनुसार यस प्रकारका जात्रा र मेलाले स्थानीय समुदायमा धार्मिक चेतना प्रवद्र्धन गर्नुका साथै सांस्कृतिक एकता, परम्परा संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।



