काठमाडौं । कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाले सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक अवरुद्ध भएको हो ।



कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना विग्रिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उपकरण प्रयोग गरी सडक खुलाउन पहल भइरहे पनि तत्काल सडक सञ्चालनमा नहुने बताउनुभयो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झण्डै ५० मिटर सडक भाँसिएर सडक संरचना पूरै ध्वस्त भएको छ ।
शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ ।



