कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरका ३० वर्षीय लोकेन्द्र बिष्टको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबरले एक परिवार मात्र होइन, सिंगो गाउँ शोकमग्न बनेको छ। छ महिनादेखि बेखबर रहेका लोकेन्द्रको मृत्यु पुस ८ मा मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेपछि उनको परिवारलाई गहिरो पीडा पुगेको छ।



चार वर्षअघि घर निर्माण गर्न थालेका लोकेन्द्र परिवारको भरणपोषण र ऋण तिर्न विदेशी भूमिमा जान बाध्य भएका थिए। अन्तिम पटक आमासँग फोनमा “एक वर्षमा फर्किन्छु, घर बनाउँछु, ऋण तिर्छु” भनेर वाचा गरेका लोकेन्द्रको जीवन अधुरै रह्यो।
१२ वर्षअघि श्रीमान् गुमाएकी उनकी आमा कमलादेवीले छोराको वियोग सहन नसकेर पटक-पटक मुर्छा परिरहेकी छिन्। जीर्ण पिल्लर मात्रै बाँकी रहेको घर, ४ वर्षीय नातिको अबोध अनुहार, र अभावले गाँजिएको बिष्ट परिवारको अवस्था गाउँभरिका आँखा रसाउने कारण बनेको छ।
रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीहरूको संख्या ४९ पुगेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ। परिवारले रुस सरकारसँग राहतका लागि अपिल गरे पनि हालसम्म कुनै प्रगति भएको छैन।
यो घटना केवल बिष्ट परिवारको व्यक्तिगत पीडा होइन, जीविकाको खोजीमा आफ्नो घर-आँगन छोडेर जान बाध्य भएका नेपालीहरूको कठोर यथार्थ हो। लोकेन्द्रको अधुरो सपना र परिवारको कहालीलाग्दो अवस्था विदेशिनुको जोखिम र पिडालाई सबैका लागि गहिरो पाठ बनाएको छ।



