नेकपा माओवादी केन्द्रले विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको आशंका गरेको छ ।पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएपछि माओवादीले विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको जनाएको हो । माओवादीले संघीयता मन नपराउनेले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वराजा शाहको समर्थनमा जम्मा भएको भीडप्रति लक्षित गर्दै सरकारका नराम्रा कामको फाइदा उठाएर व्यवस्था बिरोधीले अभियान सञ्चालन गरेको निष्कर्ष निकालेको छ ।



प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताउनु भयो । उहाँले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गर्नुभयो । उहाँले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गर्नुभयो ।



