काठमाडौं । सिरहाको चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका–१ स्थित विष्णुपुर बजार क्षेत्रमा सडकको दुवैतर्फ लगाइएका रुखहरू विना अनुमति काटिएको घटनाप्रति स्थानीयवासी आक्रोशित भएका छन् ।

बजार क्षेत्रमा रहेका आँप र जामुनका रुखहरू राजनीतिक पहुँचको आडमा काटिएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार एमालेबाट निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवको अगुवाइमा राजकुमार यादव, नागे यादव र बिन्देश्वर यादव (फतुरिया) भनिने व्यक्तिहरूले रुखहरू जरैदेखि काटी बजारमै रहेको स–मिलमा बिक्री तथा प्रयोगका लागि राखिएको छ ।

एउटा सामान्य व्यक्ति जंगलबाट सुकेको दाउरा ल्याउँदा वन कार्यालयले गरिब तथा अति विपन्न परिवारलाई समेत कारबाही गर्छ, तर गाउँपालिकाका अध्यक्षकै अगुवाइमा गैरकानुनी काम हुँदा पनि वन कार्यालय मौन बसेको स्थानीयको गुनासो छ । यस्तै, विना अनुमति सार्वजनिक रुख काटिएको पाँच दिन बितिसक्दा पनि पटक–पटक जानकारी गराउँदा वन कार्यालयले कुनै सुनुवाइ नगरेकोमा स्थानीयवासीले आक्रोश समेत व्यक्त गरेका छन् । अहिले वन कार्यालय जाँदा अनुसन्धान हुँदैछ भन्ने जवाफ पाइन्छ, यसमा सबैको मिलेमतो रहेको आशंका छ । सो रुख करिव ३ लाख बरावरको हुन सक्ने अनुमान गरिएको छ ।

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धानका क्रममा दोषी देखिने व्यक्तिहरूमाथि वन ऐन तथा कानुन अनुसार कारबाही गरिने बताए ।

सिरहामा वन क्षेत्रको जग्गामा अवैध उत्खनन् वन फडानी, काठ तस्करी हुँदा पनि सम्बन्धित निकायहरु मौन बसेको स्थानीयहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय