काठमाडौं । २०७२ साल वैशाख १२ गते, त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो । विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो । तर, १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ । काठमाडौँको असन–मरु क्षेत्र यस्तै एउटा उदाहरण हो ।

असन र मरुका यी भग्नावशेषहरू मानिसहरूको असीम पीडा र राज्यको उदासीनताका मौन साक्षी बनेका छन् । आफ्नै बास बस्ने घर भत्किएपछिको त्यो डरलाग्दो रातपछि आजसम्म ती भग्नावशेषहरूले स्थानीय बासिन्दाहरूको अधुरो आशाको कथा बोकेका छन् ।

धेरैले ऋण काढेर जसोतसो तङ्ग्रिने प्रयास गरे, तर केही भने अझै पनि भग्नावशेषकै बिचमा जीवन बिताउन बाध्य छन् । एक दशक भनेको लामो समय हो, तर असनका यी कङ्काल बनेका भवनहरूले अझै नयाँ स्वरूप लिन सकेका छैनन् ।
कतिपय भवन निजी निवास हुन् । दाजुभाइबिचको अंशबण्डाका कारण उत्पन्न विवादले पनि पुनःनिर्माण हुन सकेको छैन । विकासका गफहरू धेरै भए, पुनःसंरचनाका आश्वासनहरू पटक–पटक बाँडिए, तर वास्तविकता भने यी तस्बिरहरूमा देखिएझैँ पीडादायी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय